काठमाडौँ — इजरायल, अमेरिका र इरानबीच जारी युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली नागरिक पक्राउ परेका छन्।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत यस जानकारी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमध्ये साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन/तीन, तथा ओमानमा एक जना रहेका छन्। क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर वा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दा डर र त्रास फैलाउने भएकाले कानुन अनुसार सजाय हुने व्यवस्था छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, पक्राउ परेका नेपालीको अवस्था र कानुनी प्रक्रिया बारे सम्बन्धित देशका दूतावास र नियोगहरूसँग समन्वय गरी जानकारी लिन कार्य भइरहेको छ।
उनीहरूले भने, “पक्राउ परेका नेपाली कुन कानुन उल्लङ्घनका कारण पक्राउ परेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिइरहेका छौं। मध्य-पश्चिम मुलुकमा युद्धको प्रभावले रोजगार गुमाउने जोखिम कम छ। विशेष गरी होटल, रेष्टुरेन्ट र पर्यटन क्षेत्रमा केही असर भए पनि व्यापक खतरा छैन।”
मन्त्रालयले नेपाली नागरिकको उद्धारका लागि ‘कल सेन्टर’ सञ्चालन गरिरहेको छ। अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन्। प्रवक्ता क्षेत्रीले थपे, “असुरक्षित छन् भनेर दर्ता गर्नेहरू विस्तारै सुरक्षित हुँदै यहाँ काममा फर्किरहेका छन्। ट्रान्जिटमा परेकाहरूको उद्धार लगभग पूरा भइसकेको छ।”
