काठमाडौँ — नेपाली नागरिकहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ठगी गर्ने र उक्त रकम अवैध रूपमा क्रिप्टोकरेन्सीमा कारोबार गर्ने आरोपमा ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार ठमेल क्षेत्रबाट फेङलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, फेङले नेपाली नागरिकहरूसँग सम्पर्क बढाइ विभिन्न प्रलोभन देखाएर विश्वासमा लिने र उनीहरूको बैंक खाताबाट रकम संकलन गरी क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्ने गरेको पाइएको छ।
फेङको साथबाट करिब १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबारको विवरण फेला परेको छ। त्यसैगरी ३ थान मोबाइल फोन र रकम पठाउन प्रयोग हुने ’इन्टरनेशनल एक्सप्रेस’ सम्बन्धी कागजातहरू समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार, फेङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ र प्रहरीले यस मामिलामा अन्य संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान गरिरहेको छ।
