काठमाडौँ — नेपाल सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट र कार्यक्रम लेखनको तयारी सुरु गरेको छ। अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले को निर्देशनमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार यो समिति सङ्घीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्ने, बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने, तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र परियोजनाहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।
समितिमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई, र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल सदस्य रहेका छन्। समिति विनियोजन विधेयकको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यमा संलग्न हुनेछ।
