काठमाडौँ — इरानले आफ्नो जारी युद्धको क्रममा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसाएको दाबी गरेको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्स को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा उक्त विमानलाई लक्ष्यमा पारेर खसाएको बताइएको छ।
इरानको सरकारी समाचार एजेन्सीले विमानका पाइलट जीवित रहने सम्भावना न्यून रहेको जनाएको छ। गत महिना पनि इरानले एउटा एफ-३५ विमान खसाएको दाबी गरेको थियो, तर अमेरिकी सेनाले सो विमानले आपतकालीन अवतरण गरेको र पाइलटको अवस्था स्थिर रहेको जानकारी दिएको थियो।
अमेरिकाले अहिलेसम्म दोस्रो विमान खसाएको इरानी दाबीमा कुनै प्रतिक्रिया दिएको छैन र यो दाबीको स्वतन्त्र पुष्टि पनि भइसकेको छैन, बेलायती समाचार संस्था द गार्डियन ले उल्लेख गरेको छ।
एफ-३५ विमान ‘स्टेल्थ’ प्रविधि प्रयोग गरी दुश्मनले ट्र्याक गर्न नसक्ने प्रकारको लडाकू विमान हो र अमेरिकाले यसलाई विश्वकै सबैभन्दा शक्तिशाली लडाकू विमानको रूपमा मान्दै आएको छ। यसको मूल्य लगभग १० करोड अमेरिकी डलर अनुमान गरिएको छ।
