काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोग को स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री पोखरेलसहितको टोलीले दुवै कार्यालयको अवलोकन गर्दै संस्था सञ्चालन, संरचना र गतिविधिबारे जानकारी लिएको थियो। उनले सरकारी तर्फबाट आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने विश्वास व्यक्त गर्दै समन्वयका सम्भावित क्षेत्रहरू पहिचान गरेर अघि बढ्न निर्देशन दिए।
जनक शिक्षा सामग्री केन्द्रमा उनले पुस्तक छपाई प्रक्रियासहित अन्य संरचनाको निरीक्षण गरेका थिए र समयमै पुस्तक विद्यार्थीको हातमा पुग्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिए।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधि निरीक्षण गर्दै मन्त्री पोखरेलले गेटा अस्पताल कैलालीमा गेटा विश्वविद्यालय सञ्चालनका लागि रहेको कानुनी अड्चन हटाएर कार्य अघि बढाउन जोड दिएका थिए। दुवै निकायका पदाधिकारीहरूले संस्थाको वर्तमान अवस्था, गतिविधि र आगामी कार्य योजना मन्त्री पोखरेलसहितको टोलीलाई प्रस्तुत गरेका थिए।
