इलाम । इलामको देउमाई नगरपालिका–मङ्गलबारेस्थित भानुभक्त माध्यमिक विद्यालय मा अध्ययनरत कक्षा ७ का एक विद्यार्थीमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिक्षक अंकित दमाई र विद्यालय बस चालक सुसन मगर रहेका छन्। प्रहरीका अनुसार उनीहरूले विद्यार्थीलाई मङ्गलबारेकै एक होटलमा बोलाएर निर्घात कुटपिट तथा यातना दिएका हुन्।
घटनाको भिडियोसमेत बाहिरिएको बताइएको छ। स्रोतका अनुसार उनीहरूले विद्यार्थीलाई रक्सी खान लगाउने, शरीरका कपडा खोल्न बाध्य पार्ने र संवेदनशील अङ्गमा सिस्नु पानी लगाउनेजस्ता अमानवीय व्यवहार गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार केही दिनअघि विद्यार्थीहरूले सामाजिक सञ्जालमा शिक्षकविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै आक्रोशमा यस्तो घटना भएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय इलाम का प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्द ले उजुरीपछि दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
घटनाले शिक्षा क्षेत्रमा अनुशासनको नाममा हुने दुर्व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ।
