काठमाडौँ । सर्वोच्च अदालत ले वार्षिक परीक्षा अघि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु नगर्न निजी विद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकाल को एकल इजलासले यस्तो आदेश दिएको हो। काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल का विद्यार्थी आयुष बडाल र आकाश ढकालले दायर गरेको रिटका आधारमा आदेश जारी गरिएको हो।
रिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्याब्सन, एन–प्याब्सन लगायतलाई विपक्षी बनाइएको थियो।
शिक्षा नियमावलीअनुसार वार्षिक परीक्षाको नतिजा प्रकाशनपछि मात्र भर्ना प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था भए पनि केही विद्यालयले चैतमै प्रवेश परीक्षा र भर्ना प्रक्रिया अघि बढाएको भन्दै रिट दायर गरिएको हो।
रिटमा यस्तो कार्यले अभिभावक र विद्यार्थीलाई दबाबमा पार्ने, असमानता र अपारदर्शिता बढाउने तथा संविधानले दिएको शिक्षा र समानताको हक उल्लङ्घन हुने जिकिर गरिएको छ।
सर्वोच्चले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म भर्ना, सूचना प्रकाशन र प्रवेश परीक्षा लगायतका सबै प्रक्रिया तत्काल रोक्न आदेश दिएको छ।
