काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले स्वर्गीय केशवबहादुर कार्की, खरिदार तेजनाथ पौडेल तथा मनमाया नेपाली विरुद्ध विशेष अदालत, काठमाडौँमा करिब १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रवक्ता सुरेश न्यौपाने का अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ का जग्गाधनी सुवोध नेपालीको उजुरीका आधारमा गरिएको अनुसन्धानमा सरकारी सम्पत्तिको दुरुपयोग र अनियमितता भएको पुष्टि भएको हो।
आयोगका अनुसार आरोपितहरूले पदको दुरुपयोग गर्दै सरकारी कोषमा क्षति पुर्याएका साथै गैरकानुनी लाभ लिएको ठहर गरिएको छ। सोही आधारमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको हो।
अख्तियारले यस प्रकरणमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
