काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक का अनुसार फागुन मसान्तसम्म ३७.७ प्रतिशतले वृद्धि भई कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।
फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स आएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब ५१ अर्बको तुलनामा उल्लेख्य वृद्धि हो।
यसै अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ भने खुद ट्रान्सफर बढेर १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा खुद ट्रान्सफर ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो।
वैदेशिक रोजगारीतर्फ पनि ठूलो संख्यामा नेपाली बाहिरिएका छन्। यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ पुगेको छ।
रेमिट्यान्स वृद्धि र वैदेशिक रोजगारीको निरन्तरताले देशको बाह्य क्षेत्र सन्तुलनमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।
