काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविन विष्ट लाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय का एसएसपी सन्तोष खड्का का अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सिफारिसपछि प्रहरी प्रधान कार्यालयको पत्रका आधारमा बिहीबार विष्टलाई नियन्त्रणमा लिइएको हो।
समितिले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो। सोही अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार गौतमश्री सहकारीका सञ्चालकहरूले बचतकर्ताको करिब ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर फरार भएको आरोप छ। सहकारीका अध्यक्ष रामबहादुर गौतम हाल फरार रहेका छन्।
पक्राउ परेका सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ले अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
