काठमाडौँ । बिपी राजमार्ग मा पछिल्लो डेढ वर्षदेखि यात्रा अत्यन्त कठिन बन्दै गएको छ। मध्यम र हल्का वर्षाले समेत बारम्बार अवरोध सिर्जना गर्ने यस राजमार्ग चैत महिनाको मध्यसम्ममै दुई पटक बन्द भइसकेको छ।
काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीसम्मका विभिन्न खण्डमा रोशी खोलासहितका बाढीले सडक बगाउँदा कतिपय स्थानमा सडक सम्पर्क नै विच्छेद भएको छ। विशेषगरी गत वर्ष र यस वर्षको असोजमा परेको अविरल वर्षाले करिब ३० किलोमिटर सडकमा गम्भीर क्षति पुर्याएको छ। अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि ती संरचना पटकपटक बग्दा समस्या झन् जटिल बनेको छ।
डिभिजन सडक कार्यालय भक्तपुर का अनुसार हाल तीन खण्डमा स्थायी पुनर्निर्माण कार्य अघि बढाइएको छ। करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने आगामी दुई वर्षभित्र पूर्ण पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। पुनर्निर्माणपछि सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने, आरसीसी पर्खाल निर्माण गर्ने तथा पुलहरू विस्तार गर्ने योजना रहेको छ।
यसैबीच जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा केही खण्ड पुनर्निर्माण गरिने भएको छ भने सरकारले समग्र परियोजनाका लागि अर्बौँ रुपैयाँ बजेट सुनिश्चित गरेको छ।
तर सडकको क्षति बढ्नुमा अत्यधिक भार बोकेका सवारी साधन, विशेषगरी टिपरहरूको भूमिका पनि देखिएको छ। प्राविधिक रूपमा १६ टनभन्दा बढी भारका सवारी चलाउन रोक लगाइए पनि व्यवहारमा २५ टनसम्मका सवारी सञ्चालन भइरहेका छन्, जसले सडक संरचनालाई थप कमजोर बनाएको छ।
हाल दैनिक करिब ३ हजार सवारी साधन आवतजावत गर्ने यस राजमार्ग मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा झन् बढी प्रयोग हुने गरेको छ। छोटो दूरीमा काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने यो मार्ग अझै पूर्ण रूपमा सुरक्षित बन्न समय लाग्ने देखिएको छ।
