उत्तर–पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमार्फत गरिएको आत्मघाती बम विस्फोटमा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
प्रहरी चौकीलाई लक्षित गरी गरिएको उक्त आक्रमण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा भएको हो। स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उद्धृत गर्दै एएफपीले शुक्रबार यो जानकारी दिएको हो।
प्रहरीका अनुसार विस्फोटमा चार जना अन्य व्यक्ति घाइते भएका छन्। घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन।
सन् २०२१ मा काबुलमा तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तानमा यस्ता आक्रमणहरू बढ्दै गएको देखिएको छ। विशेषगरी तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले यस क्षेत्रमा सुरक्षा बललाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ।
यसबीच, इस्लामाबादले छिमेकी अफगानिस्तानमाथि आफ्नो भूमिमा शरण लिइरहेका आतङ्ककारी समूहलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आएको छ।
