कुवेत को एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोनमार्फत आक्रमण भएको छ। कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले शुक्रबार बिहान उक्त आक्रमण भएको पुष्टि गरेको हो।
केपीसीका अनुसार आक्रमण मिना अल–अह्मदी रिफाइनरी मा भएको हो, जसलाई कम्पनीले “दुष्ट ड्रोन हमला” को संज्ञा दिएको छ। आक्रमणपछि केही सञ्चालन इकाइमा आगलागी भए पनि आपत्कालीन टोलीले तत्काल नियन्त्रणमा लिएको जनाइएको छ।
घटनामा कुनै पनि कर्मचारी घाइते नभएको कम्पनीले स्पष्ट पारेको छ। आगलागीका क्रममा क्षेत्रको हावापानीको गुणस्तरको नजिकबाट अनुगमन गरिएको र हालसम्म वातावरणमा कुनै नकारात्मक असर नदेखिएको पनि केपीसीले जनाएको छ।
पश्चिम एसियाकै ठूला प्रशोधन केन्द्रमध्ये एक मानिने मिना अल–अह्मदी रिफाइनरीको दैनिक प्रशोधन क्षमता करिब ३ लाख ४६ हजार ब्यारेल रहेको छ।
उल्लेखनीय छ कि पछिल्ला पाँच हप्तादेखि जारी द्वन्द्वका क्रममा यस रिफाइनरीमा इरानी ड्रोनबाट यसअघि पनि दुई पटक आक्रमण भइसकेको बताइएको छ।
