हवाना । क्युबा सरकारले २ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको छ, जसलाई पछिल्ला वर्षहरूकै ठूलो सामूहिक रिहाइमध्ये एक मानिएको छ।
सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको निर्णयअनुसार कैदीहरूको राम्रो आचरण, स्वास्थ्य अवस्था तथा उनीहरूले गरेका अपराधको प्रकृतिका आधारमा माफी दिइएको हो। रिहा गरिने सूचीमा युवा, महिला, ६० वर्षभन्दा माथिका व्यक्ति तथा विदेशी नागरिकसमेत समावेश छन्। तर हत्या, यौन हिंसा वा अन्य गम्भीर अपराधमा दोषी ठहरिएका कैदीहरूलाई भने यसबाट बाहिर राखिएको छ।
मानवअधिकार संस्था ह्यूमन राइट्स वाच का अनुसार क्युबामा कार्यकर्ता, पत्रकार र राजनीतिक विरोधीहरूलाई नियमित रूपमा नियन्त्रण र हिरासतमा राख्ने गरिएको छ। यसअघि सन् २०२५ मा संयुक्त राज्य अमेरिका र भ्याटिकन सँगको वार्तापछि क्युबाले ५५३ कैदी रिहा गरेको थियो।
त्यस समयमा अमेरिकी प्रशासनले केही प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता जनाएको थियो। तर डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि उक्त सहमति रद्द गरिएको थियो, जसका कारण रिहाइ प्रक्रिया केही समय रोकिएको थियो।
सरकारले औपचारिक रूपमा यो निर्णयलाई इस्टरअघिको ‘पवित्र साता’सँग जोडेको बताए पनि विश्लेषकहरूका अनुसार यसको पृष्ठभूमिमा बढ्दो अमेरिकी दबाब र गहिरिँदो ऊर्जा संकट मुख्य कारण हुन्।
हाल ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले भेनेजुएला मार्फत हुने तेल आपूर्ति अवरुद्ध गर्दै तथा अन्य आर्थिक प्रतिबन्ध कडा बनाउँदै क्युबामाथि दबाब बढाएको छ, जसका कारण त्यहाँको अर्थतन्त्र थप कमजोर बनेको बताइएको छ।
