काठमाडौं । डोनाल्ड ट्रम्प ले महान्यायाधिवक्ता पाम बोन्डी लाई पदबाट हटाएका छन्। उनको स्थानमा पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्च लाई नियुक्त गरिने भएको छ।
यसबारे जानकारी ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत दिएका हुन्। बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट सहयोगी तथा समर्थक मानिन्थिन्। उनी ट्रम्प प्रशासनबाट हटाइएकी दोस्रो उच्च अधिकारी हुन्। यसअघि मार्चमा क्रिस्टी नोम लाई पदमुक्त गरिएको थियो।
पदमुक्त भएपछि बोन्डीले महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नु ‘जीवनकै ठूलो सम्मान’ भएको उल्लेख गर्दै अब जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्ने बताएकी छन्। उनले आगामी दिनमा निजी क्षेत्रमा रहेर पनि ट्रम्प प्रशासनका पक्षमा काम जारी राख्ने संकेत दिएकी छन्।
यसैबीच अमेरिका मा सैन्य नेतृत्वमा पनि परिवर्तनको संकेत देखिएको छ। इरानसँग जारी तनावबीच रक्षामन्त्री पिट हेगसेथ ले आर्मी चिफ अफ स्टाफ र्यान्डी जर्ज लाई राजीनामा दिन आग्रह गरेका छन्।
पेन्टागनका प्रवक्ता सिन पार्नेलका अनुसार जर्ज आफ्नो पदबाट हट्ने तयारीमा छन्, यद्यपि राजीनामाको स्पष्ट कारण सार्वजनिक गरिएको छैन। एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै नेतृत्व परिवर्तनको आवश्यकता रहेको संकेत गरिएको छ।
जर्जको बहिर्गमनपछि आर्मी भाइस चिफ अफ स्टाफ क्रिस्टोफर ला–नेभ कार्यवाहक आर्मी चिफ अफ स्टाफ बन्ने बताइएको छ।
जर्ज सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेन द्वारा नियुक्त भएका थिए। उनले खाडी युद्धसहित इराक र अफगानिस्तानका विभिन्न सैन्य अभियानहरूमा समेत सेवा गरेका छन्।
