काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट चोरीको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भई हाल सुन्दरीजल बस्दै आएका २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२२ प २५६७ नम्बरको उक्त मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सुन्दरीजल सडकखण्डबाट बरामद गरिएको हो। सो मोटरसाइकल काठमाडौँको जोरपाटीबाट हराएको भनी राजु लामा ले खोजतलासका लागि निवेदन दिएका थिए।
मोटरसाइकलसहित पक्राउ परेका सहनीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता नरेश राज सुवेदी ले जानकारी दिए।
यसैबीच प्रहरीले सवारी साधन सुरक्षित राख्न सार्वजनिकलाई सचेत गराएको छ। सवारी साधन पार्किङ गर्दा ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न र सुनसान स्थानमा पार्किङ नगर्न प्रहरीले आग्रह गरेको छ।
