काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ। उद्धार उडान नेपाल वायु सेवा निगम मार्फत सञ्चालन गरिने भएको हो।
नियमित उडानहरू प्रभावित भएपछि स्वदेश फर्कन नपाएका सयौँ नेपालीलाई लक्षित गर्दै परराष्ट्र मन्त्रालय को पहलमा उद्धार उडानको कार्यतालिका सार्वजनिक गरिएको हो।
परराष्ट्रमन्त्री शिशिर खनाल को पहलमा चैत १७ गते बसेको संयुक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरूबीच उद्धार उडान सञ्चालन गर्ने सहमति भएको थियो। सोही निर्णयअनुसार चैत २० देखि २२ गतेसम्म विशेष उडान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चैत २० गते काठमाडौँबाट आरए २२९ नम्बरको विमान दुबई प्रस्थान गर्नेछ। चैत २१ गते दुबईबाट आरए २३० नम्बरको विमान नेपाल फर्किनेछ। त्यस्तै चैत २२ गते काठमाडौँबाट आरए २४१ नम्बरको विमान साउदी अरेबियाको दमाम जानेछ भने सोही दिन आरए २४२ नम्बरको विमान दमामबाट नेपाल फर्किनेछ।
यसअघि कुवेत एयरवेजमार्फत २९१ जना नेपाली स्वदेश फर्किसकेका छन् भने सोही उडानबाट नौ जना नेपालीको शवसमेत ल्याइएको थियो।
परराष्ट्र मन्त्रालयअन्तर्गत पश्चिम एसिया, मध्य एसिया तथा अफ्रिका महाशाखाका अनुसार हालसम्म साउदी अरेबिया बाट करिब ६५०, कुवेत बाट १६० र बहराइन बाट करिब १०० जना नेपालीले स्वदेश फर्कन इच्छा व्यक्त गरेका छन्। संयुक्त अरब इमिरेट्स बाट पनि ठूलो सङ्ख्यामा नेपाली फर्कन इच्छुक रहेको विवरण सङ्कलन भइरहेको छ।
पश्चिम एसियामा बढ्दो तनावबीच विदेशमा रहेका नेपाली र उनका परिवारको दबाबपछि सरकारले उद्धार उडान अघि बढाएको हो।
