काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो।
निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार नयाँ मूल्य आज बिहान १२ बजेदेखि लागू भएको छ। संशोधित दरअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागेको छ, जसका कारण निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको छ।
यद्यपि, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि उपभोक्तालाई केही राहत दिन ग्यासको मूल्य नबढाइएको निगमले जनाएको छ।
