क्वालालम्पुर । मलेशिया सरकारले ऊर्जा खर्च घटाउने उद्देश्यले सरकारी कर्मचारीका लागि घरबाटै काम (वर्क फ्रॉम होम) गर्ने नीति लागू गर्ने भएको छ। प्रधानमन्त्री अनवर इब्राहिम ले आगामी अप्रिल १५ देखि मन्त्रालय, सरकारी निकाय तथा सरकारसम्बद्ध कम्पनीहरूमा कार्यरत कर्मचारीका लागि यो व्यवस्था लागू गरिने जानकारी दिएका छन्।
प्रधानमन्त्री अनवरका अनुसार, यो नीतिको मुख्य लक्ष्य इन्धन खपत घटाउनु र ऊर्जा आपूर्तिलाई दिगो बनाउनु हो। यससम्बन्धी विस्तृत कार्यविधि आगामी हप्ताहरूमा सार्वजनिक गरिनेछ।
यसैबीच, सरकारी स्वामित्वको तेल कम्पनी पेट्रोनास लगायतका निकायहरूले इन्धन तथा विद्युत् आपूर्ति सुरक्षित र स्थिर राख्न सक्रिय रूपमा काम गरिरहेका छन्।
हाल मलेशियाले इन्धनको मूल्य स्थिर राख्न मासिक करिब १ अर्ब अमेरिकी डलर बराबरको अनुदान दिँदै आएको छ। नयाँ नीतिले ऊर्जा खपत घटाउँदै सरकारी आर्थिक भार कम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
