नेपाल सरकारको नगद मौज्दात झण्डै तीन गुणाले बढेको छ। चालू आर्थिक वर्षको आठौँ महिना (फागुन)सम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा (प्रदेश तथा स्थानीय तहसहित) ३ खर्ब ७७ अर्ब ६१ करोड रुपैयाँ मौज्दात रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३७ अर्ब ७८ करोड रुपैयाँ मात्र रहेको थियो।
समीक्षा अवधिमा नेपाल सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यसमध्ये चालु खर्च ६ खर्ब ४२ अर्ब १५ करोड, पुँजीगत खर्च ७८ अर्ब ४९ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।
यसै अवधिमा सरकारको कुल राजस्व परिचालन ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जसमा कर राजस्व ६ खर्ब ७६ अर्ब ५९ करोड र गैरकर राजस्व ७० अर्ब ६९ करोड रुपैयाँ रहेको छ।
त्यस्तै प्रदेश सरकारहरूको कुल खर्च ५८ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने स्रोत परिचालन १ खर्ब २९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। यसमध्ये नेपाल सरकारबाट प्राप्त अनुदान र राजस्व बाँडफाँट गरी ९९ अर्ब ८४ करोड तथा प्रदेश आफैंले परिचालन गरेको र अन्य स्रोतबाट प्राप्त २९ अर्ब १ करोड रुपैयाँ रहेको छ।
