नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन्। राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय र कार्यशैलीप्रति आश्चर्य व्यक्त गर्दै “ड्यु प्रोसेस अफ ल” पूर्णरूपमा पालन गर्न सुझाव दिएका छन्।
नयाँ सरकार गठनपछिको विकसित राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सिटौलाले सरकारले गर्ने राम्रा काममा रचनात्मक सहयोग रहने प्रतिबद्धता जनाए। उनले जनताको आकांक्षा पूरा गर्न सरकारले संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिँदै, सरकारको सुरुवाती कार्यशैलीमाथि प्रश्न उठाए। उनले भने, “कुनै आयोगको प्रतिवेदन सार्वजनिक नगरी वा संसद्मा पेश नगरी हतारोमा पक्राउ गर्ने र कार्यान्वयन गर्ने शैलीले कानुनी राज्यको उपहास गरेको छ।”
सिटौलाले कांग्रेसको इतिहास स्मरण गर्दै बदलाको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारे। विगतमा बहुमत र झण्डै दुई–तिहाइ पाएका सरकारहरू समेत टिक्न नसकेको इतिहासबाट पाठ सिक्न आग्रह गर्दै उनले सरकारलाई अहंकार नगर्न चेतावनी दिए। मुलुकका तत्कालीन समस्या समाधानका लागि राष्ट्रिय एकता अपरिहार्य भएको उनले बताए। शान्ति प्रक्रिया, बेरोजगारी र विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सबै दल एक ठाउँमा उभिनु आवश्यक रहेको उनले उल्लेख गरे। विशेष गरी रुस–युक्रेन युद्ध र खाडी मुलुकमा बढ्दो तनावका बीच नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
सरकारको आलोचना र समर्थनको विषयमा उनले भने, “सरकारले राम्रो काम गरे समर्थन गर्ने र नराम्रो गरे विरोध गर्ने हाम्रो परम्परा हो, तर म चाहन्छु कि सरकारले सधैं समर्थन हुने गरी काम गरोस्।” उनले मन्त्रिपरिषद् आफैले कसैलाई पक्राउ गर्न निर्देशन दिनु उचित नभएको भन्दै, यसले कानुनी प्रक्रियाको उपेक्षा गरेको टिप्पणी गरे। सिटौलाले बेचन झा र प्रतीक थापा जस्ता व्यक्तिहरूले छिट्टै न्याय पाउनुपर्ने र जनताले प्रत्यक्ष न्याय भएको देख्न पाउनुपर्नेमा जोड दिए।
