श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले प्रतिनिधि सभाको बैठकमा एमसीसी खारेज गर्न माग गरेका छन्। बिहीबार बसेको बैठकमा बोल्दै राइले भने, “देशको स्वाधिनता, भूराजनीति र सैन्य रणनीतिका सन्दर्भमा ल्याइएको एमसीसी खारेज गर्नुपर्छ। सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।”
उनले सबै सांसदको सम्पत्ति छानबिन गर्नुपर्ने र शिक्षालाई उत्पादन, निर्माण तथा आविष्कारसँग जोड्न सरकारलाई आग्रह गरे। राइले जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा पनि जोड दिएका छन्।
साथै उनले संसदमा उपस्थित सदस्यहरुलाई समयको ख्याल राख्न आग्रह गर्दै भने, “१६ मिनेट ५५ सेकेण्ड ढिला भयौं। जनताले हामीलाई ढिला गर भनेर यहाँ पठाएको जस्तो लाग्दैन। आउँदा दिन बैठक सुरु हुनु भन्दा कम्तीमा ५ मिनेट पहिला उपस्थित हुनुपर्छ।”
राइले संसदभित्र विभेद र जनप्रतिनिधि अधिकारको सम्मानसम्बन्धी गुनासो पनि उठाए। उनले भने, “हामी पनि जनताले चुनेका प्रतिनिधि हौँ। जनताका माग राख्न पर्याप्त समय दिनु आवश्यक छ।”
