प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाको पहिलो बैठकमा जनताले सरकार मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमा पनि आमूल परिवर्तन खोजेको बताएका छन्।
विहीबार संसदमा सम्बोधन गर्दै केसीले जनताले आफ्नो ताजा जनादेशमार्फत गठित प्रतिनिधि सभालाई आशा, विश्वास र उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे।
उनले वर्तमान सरकारले सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूची स्वागतयोग्य रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि समय, समर्पण र निष्पक्षता आवश्यक भएको बताए।
केसीले नेपालको संविधानको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावना सबै राजनीतिक शक्तिले पालन गर्नुपर्नेमा जोड दिए। उनी विभाजनभन्दा एकता, उत्तेजनाभन्दा चेतना र आवेगभन्दा विवेक प्रयोग गरी राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्नु अहिलेको आवश्यकता भएको बताए।
संसदीय अभ्यासमा देखिएका कमजोरीले नीति निर्माण, कानुन तर्जुमा र सरकारलाई जनउत्तरदायी बनाउने प्रक्रियामा असर पुगेको भन्दै उनले विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताए।
केसीले भने, “राजनीतिक अस्थिरता र पुराना प्रवृत्तिबाट दिक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार, नयाँ संस्कृति र नयाँ कार्यशैलीको अपेक्षा गरेका छन्। यसै अनुरूप सरकारले काम गर्ने विश्वास छ।”
सांसद केसीले संसदमा सभ्य भाषामा अभिव्यक्तिहरू राख्न सबैलाई आग्रह पनि गरे।
