नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता र औचित्यता रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खातीले संविधान संशोधनका लागि गठबन्धन सरकारले यसअघि पनि पहल गरेको स्मरण गराएका हुन्।
उनले वर्तमान संवैधानिक व्यवस्था खर्चिलो भएको र परिमार्जन आवश्यक रहेको औँल्याए। न्यायपालिकाको सुधारका विषयमा पनि उनले जोड दिएका छन्।
संशोधन प्रक्रियाबारे स्पष्ट पार्दै खातीले भने कि, कुनै छुट्टै आयोग वा कमिटी गठन गरेर मात्र संशोधन सम्भव नहुने र प्रक्रिया सर्वभौम संसदमार्फतै अघि बढ्नुपर्ने छ।
उनका अनुसार, “सल्लाहकारको अध्यक्षतामा नोटेड गर्ने प्रक्रिया हुनसक्ला। अन्य राजनीतिक दलहरूको सहभागिता वा नहुने, र कस्ता खालका विज्ञहरू सहभागी हुने भन्ने कुरा त्यहीँमा तय हुन्छ। संविधानले छुट्टै आयोग वा कमिटी गठन गर्न सक्दैन। संशोधन प्रक्रियामा प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातै प्रदेशको फ्लोरबाट सुझाव लिएर अघि बढाउनुपर्छ।”
