तेहरान – इरानका सर्वोच्च नेता मोज्ताबा खमेनी ले अमेरिकी आक्रमणबाट भएको क्षतिपछि देशको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।
इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय प्रकृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले द्वन्द्वपछिको पुनर्निर्माणमा सबै नागरिक र निकायको एकताबद्ध प्रयास आवश्यक रहेको बताए। उनले दीर्घकालीन स्थिरता र समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेकोमा जोड दिए।
उनले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै युद्धले जनजीवनसँगै देशका विभिन्न संरचनात्मक क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको उल्लेख गरे। यस्तो कठिन परिस्थितिमा राष्ट्र आन्तरिक विकास र पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
मोज्ताबाले जनताको समर्थनले देशमा स्थिरता र आत्मसम्मान कायम राख्न सहयोग पुगेको उल्लेख गर्दै संकटका बेला नागरिक एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताए।
उनको सम्बोधन फेब्रुअरी २८ मा भएको आक्रमणका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा समर्पित गरिएको थियो। उनले विशेषगरी मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणको उल्लेख गर्दै उक्त घटनामा १८६ विद्यार्थीको ज्यान गएको भन्दै गहिरो दुःख व्यक्त गरे।
इरानमा युद्धपछिको पुनर्निर्माण, पूर्वाधार सुधार र सामाजिक स्थायित्व कायम गर्न सरकारले अब व्यापक योजना अघि बढाउने संकेत दिएको छ।
