वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आगामी दुईदेखि तीन साताभित्र इरानमाथि थप कडा सैन्य आक्रमण हुने चेतावनी दिएका छन्। बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिका युद्धका मुख्य रणनीतिक लक्ष्य नजिक पुगेको दाबी गरेका हुन्।
ट्रम्पले ३२ दिनदेखि जारी सैन्य कारबाहीमा अमेरिकी सेनाले निर्णायक सफलता हासिल गरेको उल्लेख गर्दै इरान अब सुरक्षा खतरा नरहेको दाबी गरे। “हामी चाँडै नै सबै सैन्य लक्ष्य पूरा गर्ने अवस्थामा छौं,” उनले भने, “अबका केही सातामा इरानमाथि निकै कडा प्रहार हुनेछ।”
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा द्वन्द्व तीव्र बनेको छ। त्यसको जवाफस्वरूप इरानले इजरायल, अमेरिकी सैन्य अड्डा तथा खाडी क्षेत्रका देशहरूमा आक्रमण गरिरहेको छ। यस क्रममा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्।
द्वन्द्वकै बीच इरानले विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग मानिने स्ट्रेट अफ होर्मुज बन्द गरेको छ। विश्वमा करिब २० प्रतिशत तेल आपूर्ति हुने यो मार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्नुका साथै आपूर्ति प्रणालीमा दबाब परेको छ।
ट्रम्पले भने अमेरिका उक्त मार्गमा निर्भर नरहेको दाबी गर्दै सहयोगी देशहरूलाई आफ्नै पहलमा मार्ग खुलाउन आग्रह गरेका छन्। उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अस्थायी भएको र इरानी गतिविधिका कारण भएको बताएका छन्।
यद्यपि, ट्रम्पको सम्बोधनपछि अन्तर्राष्ट्रिय सेयर बजारमा गिरावट आएको छ भने तेलको मूल्य थप बढेको छ। लगानीकर्ताहरूले युद्ध अन्त्यको स्पष्ट रणनीति नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ले उक्त द्वन्द्वले विश्व अर्थतन्त्रमा असमान प्रभाव पार्ने चेतावनी दिएका छन्। प्रभावित देशहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।
विश्लेषकहरूका अनुसार, यदि द्वन्द्व चाँडै समाधान भएन भने ऊर्जा बजारमा अस्थिरता, महँगी र वैश्विक आर्थिक दबाब अझ बढ्ने सम्भावना रहेको छ।
