काठमाडौं – काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाका अनुसार ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै गंगालाल हृदय केन्द्रबाट बुढानीलकण्ठसम्म उत्तर–दक्षिण रुट सञ्चालन हुनेछ। यो करिब १६ किलोमिटरको एकतर्फी दूरी हुनेछ।
त्यसैगरी थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व–पश्चिम रुट सञ्चालन गरिनेछ, जसको दूरी करिब २० किलोमिटर हुनेछ। यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिने योजना छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण सर्वसाधारणले महँगो भाडा तिर्नुपर्ने अवस्था अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको बताइन्। उनले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूले यातायात अभावका कारण विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै यो सेवा सुरक्षित र सहज विकल्प बन्ने विश्वास व्यक्त गरिन्।
प्रारम्भिक चरणमा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन्। तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था मिलाइनेछ। यात्रु सुरक्षालाई प्राथमिकता दिँदै बसमा सिसिटिभी क्यामरा जडान गरिनेछ भने नगर प्रहरीसमेत परिचालन गरिनेछ।
महानगरपालिकाले यो सेवामार्फत आधुनिक, सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, सेवा विस्तारका लागि अन्य साझेदारहरूसँग सहकार्य गर्न पनि महानगर खुला रहेको बताइएको छ।
