काठमाडौँ – मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँमा सञ्चालित खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ कि ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती-४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन्। उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
सुकुमाया तामाङले मनमैजुमा सञ्चालित अशोक खाजाघरमा र प्रमोद तामाङले मञ्जुश्री घरमा यौनधन्दा सञ्चालन गरेको आरोप लागेको छ। भाडा माझ्ने, सरसफाइको काम जस्ता कामको बहानामा मासिक ७ देखि १५ हजार रुपैयाँ तलब दिने भन्दै युवतीहरूलाई जबरजस्ती यौनधन्दामा लगाइएको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका दुबैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो का एसएसपी कृष्ण पंगेनीका अनुसार थप अनुसन्धान जारी रहेको छ।
