काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले देशभरका सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन्। सरकारले आगामी १०० दिनभित्र साना सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने लक्ष्य राख्दै अघि बढिरहेको अवस्थामा मन्त्री रावलले पीडितहरूसँग संवादको सुरुवात गरेकी हुन्।
बिहीबार (चैत १९) देखि मन्त्रालयमा विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राख्न थालेका छन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा पीडितहरूले ठूलो आर्थिक मार भोग्नुपरेको उनीहरूको भनाइ छ।
छलफलको क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन्। उनले भनिन्, “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ।”
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ। यस छलफलबाट सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।
