काठमाडौँ – अनलाइन प्लेटफर्म र मोबाइल माध्यम प्रयोग गरी युवतीलाई आर्थिक प्रलोभन दिई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउने अभियोगमा एक अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बबरमहल क्षेत्रकी २६ वर्षीया (नाम गोप्य) पीडितलाई अभियुक्त शिव बहादुर सारू ले फोन र म्यासेजमार्फत सम्पर्क गरी आर्थिक लाभको प्रलोभनमा पारेका थिए।
प्रहरीका अनुसार, अभियुक्तले २०८१ साल असोजदेखि विभिन्न अनलाइन तथा सञ्चार माध्यम प्रयोग गरी ग्राहक खोज्ने र उनीहरूको मागअनुसार होटल तथा कोठामा पीडितलाई पठाउने कार्य गर्दै आएका थिए। प्रत्येक ग्राहकबाट रु. ८,००० देखि रु. २०,००० सम्म रकम उठाई पीडितलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराइएको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी टोलीले मिति २०८१ कात्तिक १२ गते पीडित महिलाको उद्धार गरेको थियो। त्यसपछि २०८१ कात्तिक २६ गते मानव बेचबिखन र ओसार–पसार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
फरार रहेका अभियुक्त सारूलाई खोजतलास गर्ने क्रममा मिति २०८२ चैत १८ गते साउदी अरबबाट फ्लाइ दुबई उडानमार्फत नेपाल फर्कँदै गर्दा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र अभियुक्तसँग अन्य सम्बद्ध व्यक्तिहरूको खोजतलास पनि भइरहेको जनाएको छ।
