काठमाडौँ – नेकपा एमालेले युवा सांसद सुहाङ नेम्वाङ लाई छोडेर ७० वर्षीय रामबहादुर थापा बादल लाई संसदीय दलको नेता बनाउँदा पार्टीभित्र असन्तुष्टि फैलिएको छ।
संसदीय दलको नेता चयनको विरोधमा एमाले नेता–कार्यकर्ताहरूले सामाजिक सञ्जालमा मात्र नभई मसाल जुलुससमेत निकालेर विरोध प्रकट गरेका छन्। बुधबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा भएको निर्वाचनमा उपाध्यक्ष बादल सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए। युवा सांसद सुहाङ नेम्वाङले उम्मेदवारी फाराम भरे पनि अन्तिम समयमा दर्ता नगरेको उनले स्वयं जानकारी गराइसकेका छन्।
दलको नेता चयनपछि बादलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका शुभचिन्तक तथा युवा पुस्तालाई हतोत्साहित नहुन आग्रह गर्दै आफ्नो कार्यकाल देश र जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुहाङले भने, “दलको नेता चयनको क्रममा कुनै दबाब नभएको र लोकतान्त्रिक अभ्यास अपनाइएको हो। नतिजा मेरो अपेक्षाअनुसार नभए पनि मैले अर्को उम्मेदवारलाई योग्य ठानेर परिणाम स्वीकार गरेको छु। आजको नतिजाले एमालेभित्र आत्मसमीक्षा र सुधारको अवसर दिएको छ।"
तर एमाले उपमहासचिव योगेश भट्टराई र पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे लगायतले निर्वाचन प्रक्रिया तथा शैलीप्रति असन्तोष व्यक्त गरेका छन्। भट्टराईले दबाबमा नेता चयन गरिनु पार्टी र नेतृत्वका लागि गम्भीर धक्का भएको र जनगुनासो बढेको बताएका छन्।
पूर्वसांसद वासुदेव घिमिरे ले पनि नेताको कार्यशैली सुधार नहुँदा पार्टी बिलाएर जाने चेतावनी दिएका छन्। एमालेको जनसंगठन अनेरास्ववियुका केही समूहले महासचिव शंकर पोखरेल को पुतला जलाउँदै विरोध प्रदर्शन गरेका छन्।
अनेरास्ववियुका सचिवालय सदस्य रुद्रहरि पोखरेल ले पनि नेतृत्व र शैली नबदल्ने एमालेको रबैया सचेत युवाले स्वीकार नहुने बताउँदै चुनाव नजितेकालाई नेता मान्ने प्रवृत्ति युवाको प्रतिनिधित्व गर्न असमर्थ भएको टिप्पणी गरेका छन्।
यस घटनाक्रमले एमालेमा पुराना ढर्रा, गुटगत प्रवृत्ति र पुस्तान्तरणमा ढिलाइ भइरहेको संकेत गरेको छ। पार्टीभित्र युवा प्रतिनिधित्वको माग र रूपान्तरणका आवाज दबिन पुग्दा आगामी दिनमा नेताप्रति असन्तुष्टिका स्वर अझै उच्च हुने अनुमान गरिएको छ।
