काठमाडौँ – संघीय संसद सचिवालयले रवि लामिछाने लाई संसदमा प्रवेशमा कुनै रोकतोक नरहेको जनाएको छ। लामिछाने हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन् र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए।
उनविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ। अघिल्लो प्रतिनिधि सभामा पनि सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि तत्कालीन सभामुख देवराज घिमिरे ले लामिछानेलाई निलम्बन गरेका थिए।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय ले सतोपाटीसँग जानकारी दिंदै भने, “संसद सचिवालयमा सरकारी वकिलको कार्यालयबाट कुनै पत्र आएको छैन। उहाँलाई संसद बैठकमा भाग लिन कुनै रोक छैन।”
संसदमा निलम्बनको आधार बनाइएको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार, थुनामा रहेका कर्मचारी वा पदाधिकारीमाथि मुद्दा जारी रहँदा मात्र स्वतः निलम्बन हुने प्रावधान छ। तर लामिछाने अहिले कुनै रोक–टोकबिना संसद बैठकमा सहभागी हुन सक्ने अवस्थामा छन्।
लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी बिगो दावी भएको छ। यसमा सहकारी ठगी सम्बन्धी २ करोड ८१ लाख र सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ माग गरिएको छ।
आजको संसद बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले पनि बैठकलाई सम्बोधन गर्ने सम्भावना छ।
