काठमाण्डौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले कर्मचारी हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ। समितिको निर्णयअनुसार कार्यालय समय नपुग्दा वा ढिला उपस्थित हुँदा कर्मचारीले कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयमै कार्यालयमा उपस्थित नहुने कर्मचारीको आधा दिन बिदा कटौती गरिने नियम लागू हुने भएको छ।
समितिले चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई आफ्ना जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ। कुनै कारणवश अनुपस्थित हुनुपर्ने अवस्था आएमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। यसले अस्पतालमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यालय समयको नयाँ व्यवस्था अनुसार वैशाख १ गतेदेखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ भने कात्तिक १५ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कायम रहनेछ। यसले विशेष गरी मौसम र जनशक्ति व्यवस्थापन अनुसार कर्मचारीको कार्यसमयलाई सन्तुलित बनाउने उद्देश्य राखेको छ।
समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, कर्मचारी अनुशासन सुदृढीकरण र व्यवस्थापन सुधारको लागि कुल १४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। यस क्रममा कर्मचारी हाजिरी व्यवस्थापन, जिम्मेवारी निर्धारण, समयमै कार्य सम्पन्न गर्ने अनिवार्यता, अनुपस्थितिका कारण पेश गर्ने प्रक्रिया, स्वास्थ्य सेवा प्रवाहको गुणस्तर सुनिश्चित गर्ने उपाय, तथा प्रशासनिक प्रक्रियाको पारदर्शिता बढाउने कार्यहरू समावेश छन्।
अस्पतालका निर्देशक डा. दिलीप शर्मा ले जानकारी दिनुभयो कि नयाँ हाजिरी व्यवस्थापन नियमले कर्मचारीहरूको जिम्मेवारी स्पष्ट बनाउने मात्र होइन, सेवाग्राहीलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्न पनि मद्दत पुग्नेछ। उनले थपे, “अस्पतालको प्रत्येक कर्मचारीले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नु अनिवार्य छ। यसले सेवा प्रवाह सुधार गर्ने र बिरामी तथा सेवाग्राहीको विश्वास कायम राख्नेछ।”
