काठमाडौँ, चैत १९ – सुधन गुरुङ ले गृह मन्त्रालयमै आमसर्वसाधारणका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्ने नयाँ अभियान थालनी गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा उपस्थित नागरिकका पीरमर्का सुन्दै मन्त्री गुरुङले सेवा प्रवाहलाई जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बुधबार विशेष गरी मोफसल र दुर्गम गाउँबाट राजधानी आएका सर्वसाधारणले आफ्ना समस्या गृहमन्त्रीसँग सिधै राख्न पाएका थिए।
सो अवसरमा मन्त्री गुरुङले नागरिकका समस्या टिपोट गर्दै तत्काल समाधान गर्न सकिने विषयमा सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो। छलफलका क्रममा अधिकांश सर्वसाधारणले न्याय प्राप्तिको प्रक्रिया अझै झन्झटिलो र पहुँचवालाको नियन्त्रणमा रहेको गुनासो गरेका थिए। उनीहरूले शक्ति र राजनीतिक पहुँच नहुँदा सानातिना मुद्दामा पनि लामो समय अन्याय सहेर बस्नुपर्ने बाध्यता रहेको बताए र सरकारको ध्यानाकर्षण गराए।
एक सर्वसाधारणले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “धेरै गृहमन्त्री फेरिए तर हामी जस्ता निमुखा जनताको गुनासो सुन्न समय दिने मन्त्री पाउन सकेका थिएनौँ। सिंहदरबार छिर्नै गाह्रो हुने अवस्थामा गृहमन्त्री आफैले हाम्रो कुरा सुन्नु भएकोमा आभारी छौँ।”
नागरिकका कुरा सुनेपछि मन्त्री गुरुङले जनताका गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो। राज्यको उपस्थिति सबै नागरिकका लागि समान हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अन्यायमा परेका कसैले पनि पहुँच नभएकै कारण न्यायबाट वञ्चित हुनुपर्ने छैन। राज्यको सेवा र न्यायको पहुँच गाउँ–गाउँसम्म पु¥याउन मन्त्रालयले आवश्यक कदम चाल्ने छ।”
