काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दा ज्यान गुमाउनेको सङ्ख्या ५ हजार नाघेको छ। विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले संकलन गरेको तथ्याङ्क अनुसार Reuters ले यो विवरण सार्वजनिक गरेको हो।
सबैभन्दा बढी मानवीय क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ। मानव अधिकारवादी संस्था Human Rights Watch (HRW) का अनुसार ज्यान गुमाउनेमा १ हजार ५ सय ९८ जना सर्वसाधारण रहेका छन्, जसमा २४४ बालबालिका पनि समावेश छन्। त्यस्तै, Red Cross and Red Crescent ले इरानमा करिब १९ हजार मानिस घाइते भएको जानकारी दिएको छ।
लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन्, जसमा १२४ बालबालिका रहेका छन्। त्यहाँका हिजबुल्लाह लडाकुमा ४ सयभन्दा बढी मारिएका छन् भने ड्युटीमा रहेका ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघका ३ इन्डोनेसियाली शान्ति सेनाले पनि ज्यान गुमाएका छन्।
इराकमा पनि स्थिति तनावपूर्ण छ। इरान निकट मिलिसिया, कुर्दिस लडाकु र केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
जवाफी कारबाही स्वरूप इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा हालसम्म १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएको र सीमा क्षेत्रमा आफ्नै सेनाको असावधानीका कारण एक किसानले ज्यान गुमाएको जानकारी दिएको छ।
युद्धमा प्रत्यक्ष संलग्न अमेरिकाले पनि आफ्ना १३ सैनिक गुमाएको छ। यसमा इराकमा भएको विमान दुर्घटना र इरानमा भएका सैन्य कारबाहीका क्रममा मारिएका सैनिकहरू समावेश छन्।
त्यस्तै, संयुक्त अरब इमिरेट्समा ११, कतारमा ७, कुवेतमा ७ र वेस्ट बैंक तथा सिरियामा ४–४ जनाको मृत्यु भएको पुष्टि भएको छ। साथै बहराइन, ओमान र साउदी अरबमा पनि मृत्युका घटना दर्ता भएका छन्।
विश्लेषकहरूका अनुसार यस युद्धको मानवीय र राजनीतिक असर क्षेत्रीय मात्र नभई विश्वव्यापी स्तरमा गहिरो भइरहेको छ।
