काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोह नियन्त्रणमा लिएको छ।
नुवाकोटका दीपक थापा लाई १२ हजार ६ सय अमेरिकी डलर सस्तोमा दिने प्रलोभनमा पारेर ३ लाख रुपैयाँ ठगी गरेका अभियुक्तहरूलाई प्रहरीले कलङ्कीको नाग मन्दिर क्षेत्र बाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट शिवपुरीका २८ वर्षीय सुवास तामाङ (सरोज) र मकवानपुर थाहा नगरपालिकाका २७ वर्षीय गौरव स्याङ्तान (पासाङ) रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ कि यो गिरोह निकै चलाखीपूर्ण तरिकाले ठगी गर्ने गरेको छ। उनीहरूले आफूलाई ट्रेकिङ वा भरियाको काम गर्ने व्यक्ति भनेर चिनाएर, बाढी पहिरोमा डलर तथा अन्य विदेशी मुद्रा भेटिएको बहानामा मानिसहरूलाई विश्वासमा पार्ने गरेको खुलेको छ।
सस्तोमा डलर पाउने लोभमा परेर नगद बुझाएपछि उनीहरू पैसा लिएर फरार हुने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूको साथबाट ५ थान सिम कार्ड र ३ थान मोबाइल समेत बरामद गरिएको छ।
पक्राउ परेकामध्ये सुवास तामाङ पुराना अपराधी भएको प्रहरी रेकर्डले पुष्टि गरेको छ। उनी यसअघि २०७१ सालमा घर चोरीको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट कैद र जरिवाना भुक्तान गरिसकेका थिए। त्यस्तै, उनी चार पटक मोटरसाइकल चोरीको मुद्दामा समेत पक्राउ परेका व्यक्ति हुन्।
दुवै अभियुक्तलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट प्रहरी वृत्त पठाइएको छ।
