काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्ने तय भएको छ । रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधानअनुसार दुवै सदनको अधिवेशन आह्वान गरेका थिए भने संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । संविधानअनुसार निर्वाचन परिणाम आएको ३० दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था अनुरूप निर्वाचन आयोगले चैत ५ गते प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसहित नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । संघीय संसद् सचिवालयका अनुसार पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन, प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारीसहित आठ वटा एजेन्डामाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

