काठमाडौँ। सन् २०२६ को मार्च महिनामा एक लाख २० हजार पाँच सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विशेषगरी दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ।
तथ्याङ्कअनुसार दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ दशमलव ४ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७ सय २८ पर्यटक आएका छन्। त्यस्तै श्रीलङ्काबाट १० हजार ७ सय ५९ र बङ्गलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतबाट आउने पर्यटकको उच्च सङ्ख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाएको छ।
त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ। चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ। समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४ सय ३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७ दशमलव ७ प्रतिशत हो।
युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्या भने स्थिर देखिएको छ। पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय उडानमा परेको असरका कारण ती क्षेत्रबाट आगमन वृद्धिमा कमी आएको बोर्डले जनाएको छ। यद्यपि यस्ता बजारबाट आउने पर्यटकहरू उच्च खर्च गर्ने भएकाले उनीहरूको योगदान अझै महत्वपूर्ण मानिन्छ।
तुलनात्मक रूपमा हेर्दा सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल आएका थिए भने कोभिड–१९ अघि सोही महिनामा एक लाख २७ हजार ३ सय ५१ आगमन भएको थियो। सन् २०२६ को फेब्रुअरीमा भने एक लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका थिए।
मार्च–अप्रिललाई ट्रेकिङ, हिमाल आरोहण र सांस्कृतिक भ्रमणका लागि मुख्य सिजन मानिन्छ। तर यस वर्ष पश्चिम एसियामा चर्किएको युद्ध, अन्तर्राष्ट्रिय उडानमा अवरोध तथा विभिन्न देशले जारी गरेको यात्रा सल्लाहका कारण अपेक्षित वृद्धि हुन सकेको छैन।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हालको तथ्याङ्क निराशाजनक नभएको तर पूर्ण सन्तोषजनक पनि नभएको बताएका छन्। उनले छिमेकी मुलुकबाट बढ्दो पर्यटक आगमनलाई सकारात्मक संकेतका रूपमा लिँदै प्रवर्द्धनात्मक कार्यक्रममार्फत बजार विस्तार गर्ने रणनीति अपनाइएको जानकारी दिएका छन्।
उनका अनुसार विश्वव्यापी अस्थिरताबीच पनि नेपालले सन्तुलित र दिगो पर्यटन रणनीति अपनाउँदै वैकल्पिक बजार विस्तारमा ध्यान केन्द्रित गरिरहेको छ।
