काठमाडौँ। वैदेशिक रोजगारीका क्रममा इराकको कुर्दिस्तान क्षेत्रमा रहेका दुई जना नेपाली नागरिकको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अनुसार गत मार्च २८ गते कुर्दिस्तानका एर्बिल र सुलेमानिया सहरमा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोरखाकी रीता भुजेल र लमजुङका लेखमान घले रहेका छन्। साविक धावा–३, तान्द्राङ (गोरखा) घर भएकी भुजेल सुलेमानियास्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी विगत करिब १० वर्षदेखि कुर्दिस्तान क्षेत्रमा कार्यरत थिइन्।
त्यसैगरी, लमजुङको दोर्दी–५, पाचोक घर भएका घलेको एर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। उनी कुन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए भन्नेबारे भने खुलाइएको छैन।
एनआरएनए इराकले दुवै घटनाबारे आवश्यक समन्वय गरिरहेको जनाएको छ। साथै, मृतकका परिवारलाई सहयोग गर्ने तथा शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको पनि जानकारी दिइएको छ।
