काठमाडौँ । पश्चिम एसियामा चर्किएको युद्ध र अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्ति अवरोधका कारण नेपाल आयल निगम ले पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा बेहोरेको जनाएको छ। कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेसन बाट महँगो दरमा इन्धन खरिद गर्नुपरेको निगमको भनाइ छ।
निगमका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार आन्तरिक बजारमा समयमै मूल्य समायोजन गर्न नसक्दा आर्थिक भार थपिएको हो। प्रवक्ता मनोज कुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे घाटा अझै बढ्ने चेतावनी दिएका छन्। हाल मूल्य स्थिरीकरण कोषमा रहेको १९ अर्ब रुपैयाँले पनि धेरै समय धान्न नसक्ने अवस्था रहेको उनले बताए।
हाल पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा भए पनि उपभोक्तालाई प्रत्यक्ष असर नपरोस् भन्ने उद्देश्यले खुद्रा मूल्य यथावत् राखिएको निगमले जनाएको छ। तर, निगम सञ्चालक समितिले हवाई इन्धनमा भने उल्लेख्य मूल्यवृद्धि गरेको छ।
आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएर १२७ रुपैयाँबाट २५१ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ८१९ अमेरिकी डलरले वृद्धि गरी १,७८५ डलर कायम गरिएको छ भने पोखरा र भैरहवाका लागि लागतका आधारमा नयाँ मूल्य निर्धारण गरिएको छ।
निगमले इन्धन आपूर्ति प्रणाली सहज रहेको र पर्याप्त मौज्दात उपलब्ध रहेको जानकारी दिँदै उपभोक्तालाई मितव्ययी रूपमा इन्धन प्रयोग गर्न आग्रह गरेको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारको प्रभाव छिमेकी भारत मा पनि देखिएको छ। त्यहाँ व्यावसायिक एलपीजी ग्यास र हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी हर्मुज नाका मा देखिएको अवरोध र खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमणका कारण आपूर्ति संकट चर्किएको बताइएको छ।
दिल्लीमा १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य २,०७८ भारु पुगेको छ भने हवाई इन्धनको मूल्य पनि दोब्बरभन्दा बढीले बढेको छ। यद्यपि घरेलु प्रयोगका लागि ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।
