जुम्ला। हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा मङ्गलबार सुक्खा पहिरो खस्दा तीन वटा घरमा क्षति पुगेको छ। पहिरोका कारण स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीका घर पूर्ण रूपमा नष्ट भएका छन् भने नरजङ्ग अधिकारीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको वडा अध्यक्ष उपराज अधिकारीले जानकारी दिएका छन्।
पहिरोका कारण विस्थापित भएका परिवारहरू हाल गाउँकै अन्य स्थानीयवासीका घरमा आश्रय लिएर बसिरहेका छन्। प्रभावित परिवारले दैनिक जीवन सञ्चालनमा कठिनाइ भोगिरहेका छन् भने खाद्यान्न, लत्ताकपडा र सुरक्षित बसोबासको समस्या देखिएको छ।
वडाध्यक्ष अधिकारीका अनुसार पीडितहरूका लागि राहत उपलब्ध गराउन गाउँपालिका, प्रदेश सरकार, संघीय सरकार तथा विभिन्न संघसंस्थासँग अनुरोध गरिएको भए पनि अहिलेसम्म कुनै ठोस सहयोग प्राप्त हुन सकेको छैन।
यस क्षेत्र पहिरोको उच्च जोखिममा रहेको स्थानीयहरूले बताउँदै आएका छन्। यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि यही गाउँका छ वटा घर पहिरोले बगाएको थियो। तर त्यतिबेला पनि पीडितहरूले पर्याप्त राहत नपाएको गुनासो रहेको छ।
स्थानीयवासीले दीर्घकालीन समाधानको माग गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण, पहिरो नियन्त्रण र सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। हाल पहिरोको जोखिम अझै कायम रहेकोले थप क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।