सङ्खुवासभा। सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २१ वर्षीय रोशन श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्याक्टर आज बिहान भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा ट्याक्टरमा सहयोगीका रूपमा काम गर्दै आएका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले ट्याक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
