भियतनाम, लाओस, थाइल्याण्ड जस्ता देशसँगै कम्बोडियामा पनि आकर्षक तलबको लोभमा पुगेका नेपालीहरू अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फस्ने समस्या बढ्दो छ। यस्ता अवस्थामा थप ८ जना नेपालीलाई बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उद्धार गरी स्वदेश फर्काइएको छ।
उद्धार गरिएका व्यक्तिहरू आज नेपाल आइपुगेका छन्। दूतावासका अनुसार कम्बोडियामा बन्धक बनाएर अनलाइन ठगीमा बाध्य पारिने नेपालीहरूको संख्या बढ्दो छ। सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया पुगेका थिए भने सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको छ।
स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने, काममा दबाब दिने र आर्थिक शोषण गर्ने गुनासो बढेपछि दूतावासले अलपत्र परेका नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरी स्वदेश फर्काउने व्यवस्था मिलाएको छ। दूतावासले अलपत्र वा भिसा अवधि सकिएको अवस्थामा कम्बोडियामा रहेका नेपालीहरूले तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियासँग सम्पर्क गर्न आग्रह गरेको छ।
दूतावासले सबै नेपालीलाई चेतावनी दिएको छ कि छिटो पैसा कमाउने लोभमा भिजिट भिसाको बहाना बनाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा नजानुहोस। वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी मात्र अनिवार्य श्रम स्वीकृति लिएर जानु आवश्यक रहेको जनाएको छ।
यो कदमले वैदेशिक रोजगारमा जाने नेपालीहरूको सुरक्षा सुनिश्चित गर्दै, अवैध र जोखिमपूर्ण परिस्थितिबाट बचाउने उद्देश्य राखेको छ।
