मुगु – मुगुका युवाहरूले दुर्गम क्षेत्रहरूमा अझै प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। युवा आशिष देवकोटाको नेतृत्वमा रहेको टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनासँग भेट गरी मुगुको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपायसहित सुझावहरू प्रस्तुत गरेको छ।
तथ्यांकअनुसार मुगुमा रहेका २४ टेलिकम टावरमध्ये अहिले १२ मात्र सञ्चालनमा छन्। बाँकी टावरहरूमा कमजोर नेटवर्कका कारण नागरिकहरूले भरपर्दो सेवा पाउन सकिरहेका छैनन्। मुलुकको डिजिटल पहुँच र सरकारी सेवा विस्तारमा दुर्गम क्षेत्रहरू अझै वञ्चित रहेको तथ्यलाई युवा टोलीले मन्त्री तिमल्सिनाको ध्यानाकर्षण गराएको हो।
मुगुका झण्डै ९५ प्रतिशत नागरिक भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित रहेको, गाउँसम्म सरकारी सूचना नपुगेको र सेवा विस्तारमा प्राथमिकता नदिएको विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ। कतिपय ठाउँमा मोबाइल सिग्नल प्राप्त गर्न नागरिकले डाँडामै पुग्नु पर्ने बाध्यता रहेको पनि देवकोटाले बताउनुभयो।
भेटका क्रममा युवाहरूले प्रतीकात्मक रूपमा पुरानो नोकिया मोबाइल फोन मन्त्रीलाई उपहार दिएको भए पनि मन्त्री तिमल्सिनाले यसलाई अस्वीकार गर्नुभएको थियो।
मन्त्री तिमल्सिनाले हाल देशभर झण्डै १ हजार २०० वटा टावरमार्फत फोर–जी सेवा सञ्चालनमा रहेको र थप तीन हजार टावर निर्माण गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। उनले दुर्गम र पहुँचविहीन क्षेत्रहरूको डिजिटल पहुँच विस्तारमा ध्यान दिइरहेको र आगामी वर्षहरूमा यी सेवाहरू सुधार्ने योजना रहेको बताएका छन्।
यस भेटवार्ताले मुगुका युवाहरूको पहल र स्थानीय आवश्यकता सरकारसम्म पु¥याउने महत्वपूर्ण कदम भएको छ। मुलुकका दुर्गम क्षेत्रमा डिजिटल पहुँच सुनिश्चित गर्न यस किसिमका संवाद र पहल आवश्यक रहेको युवा टोलीले औँल्याएको छ।
