जुम्ला । जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा चैत १७ गते दिउँसो करिब १२ बजेतिर सुख्खा पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ। स्थानीयका अनुसार, ललिजन अधिकारीका दुई घरमध्ये एउटा पूर्ण रूपमा ध्वस्त भएको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ। पहिरोका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीयले अनुमान गरेका अनुसार करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ, तर दिनको समयमा घटना भएकाले मानवीय क्षति भने भएको छैन।
स्थानीयहरूले पहिरो जोखिमबारे एक हप्ता अघि नै गाउँ सरकारलाई निवेदन दिएका थिए, तर जनप्रतिनिधिहरूले स्थल निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरिएको छ। घटना भएको घण्टौं बितिसक्दा पनि सम्बन्धित निकाय घटनास्थलमा नपुगेको भन्दै स्थानीय असन्तुष्ट छन्। घरधनी आफैले प्रहरी चौकी जुगाडमा निवेदन दिन जाँदा भोलि आउने आश्वासन मात्र पाएको बताएका छन्। हाल प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। स्थानीयवासीका अनुसार खल्ढुङ्गा गाउँ लामो समयदेखि कमजोर चट्टान र भीरको जोखिममा रहेको छ। यसअघि २०७९ असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छ वटा घर पहिरोले बगाएका थिए, तर पीडितहरूले पर्याप्त राहत पाउन नसकेको गुनासो राखेका छन्।
