काठमाडौँ। क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गएपछि जापानले आफ्नो रक्षा नीति ठूलो परिवर्तन गर्दै पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। दक्षिणपश्चिमी प्रान्त कुमामोटोको क्याम्प केङ्गुनमा ‘टाइप–१२’ ल्यान्ड–टु–शिप मिसाइलको अत्याधुनिक संस्करण सञ्चालनमा ल्याइएको छ।
मित्सुबिशी हेभी इन्डस्ट्रिजले विकास गरेको यस मिसाइलको मारक क्षमता पुरानो २०० किलोमिटरबाट बढाएर १,००० किलोमिटर पुर्याइएको छ। यसले जापानलाई आफ्नो क्षेत्रभन्दा टाढा रहेका सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ। रक्षामन्त्री सिन्जिरो कोइजुमीले यो कदम वर्तमान सुरक्षा वातावरणमा अनिवार्य रहेको उल्लेख गरेका छन्।
यद्यपि, स्थानीय बासिन्दा मिसाइल तैनाथीले आफ्नो क्षेत्रलाई सम्भावित निशानामा बदल्न सक्ने भन्दै विरोधमा उत्रिएका छन्। जापानले यो प्रणालीलाई सन् २०२८ सम्म होक्काइडोदेखि मियाजाकीसम्म विस्तार गर्ने योजना बनाएको छ।
सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षा लागि हाइपरसोनिक ग्लाइड वाहन पनि तैनाथ गरिएको छ। साथै अमेरिकी टोमहाक क्रूज मिसाइलहरू आफ्ना नौसैनिक विध्वंसक जहाजमा समावेश गर्ने तयारी छ।
प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा आगामी वर्षका लागि ९० खर्ब येनभन्दा बढीको रक्षा बजेट स्वीकृत गरिएको छ। बजेटमार्फत तटीय सुरक्षा सुदृढ, मानवरहित हतियार प्रणाली विकास, र प्रशान्त क्षेत्रमा चीनको गतिविधि अध्ययनका लागि नयाँ कार्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ।
चिनको बढ्दो सैन्य गतिविधि र ताइवानसँग सम्बन्धित सम्भावित संकटलाई ध्यानमा राख्दै जापानको यो कदमले क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ बहस सिर्जना गरेको छ।
