काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै अघि बढाउने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकले वर्तमान सरकारप्रति कडा आलोचना गर्दै रास्वपा नेतृत्वमा सरकार बनेसँगै राज्य ‘आतंकतर्फ उन्मुख’ भएको ठहर गरेको छ। एमालेले संविधान, लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको निष्कर्ष निकालेको जनाएको छ।
त्यस्तै, पार्टीले सरकारी दमनविरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालालाई आह्वान गरेको छ।
बैठकले पार्टी अध्यक्ष ओलीको पक्राउलाई गैरकानुनी भएको दाबी गर्दै त्यसविरुद्ध कानुनी तथा राजनीतिक दुवै माध्यमबाट संघर्ष जारी राख्ने स्पष्ट निर्णय गरेको महासचिव पोखरेलले बताए।
