शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन्।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका क्रममा मन्त्री पोखरेलले आगामी ५ वर्षभित्र ग्रासरुट स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नीतिगत सुधार अघि बढाइने बताएका हुन्।
उनले नेपालको खेलकुद क्षेत्रमा देखिएको प्रमुख समस्या सानो उमेरदेखि खेलाडी उत्पादन हुन नसक्नु रहेको उल्लेख गरे। हाल अधिकांश खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) जस्ता निकायबाट आउने गरेको उल्लेख गर्दै उनले ती निकायमा मात्र उचित डाइट, प्रशिक्षण र आम्दानीको सुनिश्चितता हुने अवस्था रहेको बताए।
“१८ वर्षपछि मात्रै त्यस्ता निकायमा प्रवेश गर्न पाइन्छ,” उनले भने, “तर यदि त्यही स्तरको डाइट र प्रशिक्षण सानो उमेरदेखि नै दिन सक्यौँ भने खेलकुदको विकास अझ तीव्र हुन्छ।”
काठमाडौँ महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै उनले अब नीतिगत र कानुनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे। पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी विद्यालय शिक्षामा खेलकुदलाई समावेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
मन्त्री पोखरेलले खेलकुदले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै समग्र विकासका लागि यसको भूमिका अपरिहार्य रहेको बताए।
आफूलाई मन्त्रीभन्दा पनि ‘टिम मेम्बर’को रूपमा हेर्न आग्रह गर्दै उनले सम्बन्धित क्षेत्रका विज्ञ र कर्मचारीलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरे।
उनले आगामी पाँच वर्षमा खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन र दिगो विकासको आधार तयार पार्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे।
