काठमाडौँ । लगातार दुई दिन उच्च अंकले ओरालो लागेको सेयरबजार मंगलबार ‘बाउन्स ब्याक’ भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ। यसअघि आइतबार ७१ अंक र सोमबार ४७ अंकले घटेको बजार तेस्रो कारोबार दिन सुधारिएको हो।
आजको कारोबारमा कुल ११ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। २ करोड ७९ लाख कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये १९५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको र ९ वटाको मूल्य स्थिर रहेको छ।
मंगलबार रिलायन्स लाइफ, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रो, रिजलाइन इनर्जी र होटल फरेस्ट इनका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। यी कम्पनीहरूको सेयर मूल्य करिब १० प्रतिशतसम्म बढेको छ।
यता सप्तकोशी डेभलपमेन्ट बैंक, रिडी पावर र धौलागिरि लघुवित्तलगायतका कम्पनीको सेयर मूल्य भने घटेको छ, जसमा अधिकतम ८.९६ प्रतिशतसम्म गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रहेको छ, जहाँ करिब ४८ करोड रुपैयाँको कारोबार भएको छ। त्यसपछि अपि पावर (४० करोड), एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र एसवाई प्यानल (३७ करोड) तथा कुमारी बैंक (३५ करोड) क्रमशः अगाडि रहेका छन्।
समूहगत सूचकतर्फ अन्य र म्युचुअल फन्ड समूह बाहेक सबै समूहमा वृद्धि देखिएको छ। बजारमा आएको यो सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।
