काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गरेका कामलाई नजिकबाट नियालिरहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सरकारका कामको समीक्षा गर्दै आवश्यक परे प्रश्न उठाउने, विरोध गर्ने र राम्रो काममा समर्थन गर्ने धारणा व्यक्त गरेका हुन्।
“सरकारले गरेका कामलाई हेरेर, बुझेर त्यसलाई प्रश्नसहितको आलोचना पनि गर्न पाइन्छ । विरोध गर्न पनि पाइन्छ । राम्रो काम भयो भने समर्थन पनि गर्ने हो,” उनले भने।
सरकारका सबै कामलाई अन्धाधुन्ध स्वीकार गरेर बस्न नसकिने उनको भनाइ छ। “त्यो काम मबाट हुन सक्दैन,” उनले भने, “माटोबाट पनि हुन सक्दैन।”
उनले प्रतिपक्षको भूमिकामाथि जोड दिँदै सरकारका कामप्रति प्रश्न उठाउनु आवश्यक रहेको बताए। “यदि प्रतिपक्षले सरकारको कार्यको चेक एन्ड ब्यालेन्सका लागि प्रश्न गर्दैन भने कसले गर्ने हो ?” उनले प्रश्न गरे।
प्रतिपक्ष निष्क्रिय भए सरकार आवश्यक र अनावश्यक निर्णयतर्फ जान सक्ने तथा त्यसले असफलता निम्त्याउन सक्ने उनको धारणा छ।
